झापा । अर्जुनधारा ३ मा रहेको जुकेखाडी सामुदायिक वन उपभोक्ता समूहको हालै सम्पन्न निर्वाचनको मत परिणाम सच्याइएको छ । एउटा क्षेत्रकाे (ख)काे मत परिणाम दाेहाेरिएपछि त्रुटि भएकाे थियाे ।

 

चैत ५ गते सम्पन्न निर्वाचनको मत परिणाम सार्वजनिक गर्दा खसेको मतभन्दा प्राप्त मत बढी भएपछि चौतर्फी आलोचना भएको थियो । क्षेत्र, क्षेत्रको मत परिणाम गणनापछि जोड्ने क्रममा त्रुटि भएको निश्कर्षसहित मत परिणाम सच्याइएको निर्वाचन संयोजक दिपिन राईले जानकारी दिए ।

 

उनका अनुसार निर्वाचन सम्पन्न गर्न बनेको आयोगका पदाधिकारी, उपभोक्ता रहेका सम्बन्धित वडाध्यक्षसहित समस्या समाधान गर्न बनेको निर्वाचन विवाद मध्यस्थता सर्वदलीय समितिको संयुक्त बैठकले समस्या समाधान गरेको हो ।

 

समूहको कुल मतदाता संख्या ३६४०, खसेको मत ३००२ र पूर्ण मत बदर ४४ निश्कर्ष समितिको रहेको छ । मतगणनाका क्रममा क्षेत्र नं. ४ (ख)को मत दोहोरिएर त्रुटि हुन गएको निश्कर्षसहित समितिले सच्याएको जनाएको हो ।

 

समितिका अनुसार अध्यक्ष, उपाध्यक्ष, सचिव र कोषध्यक्ष पदका उम्मेद्वारको मतमात्र दोहोरिएर त्रुटि भएको थियो । सच्याइएको मत परिणामअनुसार विजेता बनेका लोकतान्त्रिक समूहका मोहन श्रेष्ठले १५५१ मत ल्याएका छन् ।

 

उनका प्रतिद्वन्द्वी प्रगतिशील प्यानलका नरेन्द्रप्रसाद मिश्रले ११२१ मत पाए भने स्वतन्त्र प्यानलका भोलानाथ पौडेलले १९२ मत ल्याएको जनाइएको छ ।

 

यसैगरी, उपाध्यक्ष पदमा लक्ष्मीराम शर्मा तिम्सिनाले ११९४ मत ल्याएर विजयी भएका छन् । यस्तै, सचिव पदमा उर्मिला कटुवाल अधिकारीले १२६४ मत ल्याएर विजयी भएकी छन् ।

 

यसैगरी, कोषाध्यक्ष पदमा मनिला जवेगु इङनाम लिम्बूले १३६१ मत ल्याएर विजयी भएकी छन् । सहसचिव पदमा भने त्रुटि नभएको समितिको भनाइ छ । समूहको क्षेत्र नं. ४ (ख)मा मत दोहोरिन गइ परिणाममा अन्तर आएको थियो ।

 

मध्यस्थता समितिमा नेपाली कांग्रेसबाट हेमराज खरेल, एमालेबाट लोकमान श्रेष्ठ, माओवादी केन्द्रबाट नारद दुःखी, जनमुक्तिबाट धनबहादुर राई, नेकपा एसबाट प्रेमसागर सापकोटा, राष्ट्रिय प्रजातन्त्र पार्टीका यामकुमार बास्कोटा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट लोकनाथ खतिवडा, वडा नं. ३ का वडाध्यक्ष सीताराम भट्टराई, ४ का अम्बरबहादुर कटुवाल र ७ का गोविन्दप्रसाद खतिवडाको उपस्थिति रहेको थियो ।