झापा । भोलि र पर्सिको होली पर्वमा समेत पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । केहीबेर मौसम खुले पनि पर्सिसम्मै बदली र वर्षाको सम्भावना रहेको बताइएको छ ।

 

महाशाखाका मौसमविद् गोविन्द झाकाअनुसार विशेषगरी मध्य र पूर्वी क्षेत्रका केही ठाउँमा पर्सि सोमबारसम्मै पानी पर्ने सम्भावना छ । भोलि आइतबार पहाडी भेगमा र पर्सि सोमबार तराई भेगमा होली अर्थात फागु पूर्णिमा मनाईँदैछ ।

 

होलीमा रंग र अबिरसँगै पानीसमेत खेलेर रमाइलो गर्ने चलन छ । तर, वर्षासँगै चिसो बढेकाले यसपालिको होलीमा पानी खेलेर रमाइलो गर्नेहरुलाई असर पर्ने भएको छ । काठमाण्डौसहित कोशी, बागमती र गण्डकी प्रदेशका केही ठाउँमा रातिदेखि नै झरी परेको छ ।

 

आज दिउँसो पनि कोशी, मधेश, बागमती र गण्डकी क्षेत्रका केही ठाउँमा बदली र वर्षा हुने मौसमविद् झाले जानकारी दिए । मध्य र पूर्वी भेगमा गएको बुधबारदेखि वर्षा र बदली भइरहेको हो । पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको बिहार आसपास रहेको न्यूनचापीय प्रणालीको प्रभावले बदली र वर्षा भएको मौसमविद्ले बताएका छन् ।