भद्रपुर । झापामा १४ वर्षमुनिका २५ बालबालिकामा क्षयरोगको सङ्क्रमण देखिएको छ । चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा फेला परेका नयाँ क्षयरोगीमध्ये २५ जना बालबालिका रहेका छन् ।

 

साउनदेखि पुसमसान्तसम्म ५७० जना नयाँ क्षयरोगी फेला परेका भन्दै तीमध्ये २५ जना बालबालिका रहेका जिल्लास्थित स्वास्थ्य कार्यालयका क्षयरोग फोकल पर्सन वीरेन्द्र दासले जानकारी दिए । उनका अनुसार नयाँ क्षयरोगीमा १८२ महिला र ३८८ जना पुरुष रहेका छन् ।

 

फेला परेकामध्ये ४३१ जनामा फोक्सोसम्बन्धी क्षयरोग देखा परेको छ भने १३९ जनामा अन्य क्षयरोग देखिएको फोकल पर्सन दासले बताए । उनका अनुसार एचआइभी सङ्क्रमित नौ जनामा क्षयरोग देखिएको छ । औषधि प्रतिरोधी क्षयरोगका बिरामी सातजना रहेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

 

जिल्लामा आर्थिक वर्ष २०७७/७८ मा ९९२, आव २०७८/७९ मा एक हजार १८६ र आव २०७९/८० मा एक हजार १६५ जना क्षयरोगी फेला परेका थिए । झापामा भोलि ‘हो, हामी क्षयरोग अन्त्य गर्छौं’ भन्ने नाराका साथ विश्व क्षयरोग दिवस-२०८० मनाइँदैछ ।

 

‘चालु आवमा क्षयरोगका बिरामीको अनुपात हेर्दा ५५ प्रतिशत पत्ता लागेको देखिन्छ’, फोकल पर्सन दासले भने, ‘अझै ४५ प्रतिशत थप क्षयरोगी पत्ता लगाउनु चुनौती देखिन्छ ।’ उनका अनुसार गत आव २०७९/८० क्षयरोगबाट २० जनाको मृत्यु भएको थियो ।