बिर्तामोड । साधक तिलक लिम्बू (अद्वैत मनोक्रान्ति) ले झापाको कनकाई ७ मा रहेको दुर्गापुरस्थित फक्ताङलुङ एजुकेसन फाउन्डेसनको प्राङ्गणमा सातदिने निराहार भू-तपस्या गर्ने भएका छन् ।

 

विकासान्द फाउन्डेसन विश्व परिवारको आयोजना तथा फाउन्डेसनको समन्वयमा चैत १७ गते शनिबारदेखि चैत २३ गते शुक्रबारसम्म लिम्बूले भू-तपस्या गर्ने भएका हुन् । लिम्बूले ९ फिट गहिरो खाडलमा ७ दिनसम्म निराहार भू-तपस्या गर्न लागेको आज बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

 

लिम्बू विकासानन्द फाउन्डेसन विश्व परिवार बराङ, पोखराका साधक, झापा कमल गाउँपालिका ७ निवासी हुन् । उनले विगत एक वर्षदेखि फक्ताङलुङ एजुकेशन फाउण्डेशनमा योग प्रशिक्षण गराउँदै आएका छन् ।

 

‘संसारलाई बदल्नु छ, शुरु आफैँबाट गर्नु छ’ भन्ने मनोक्रान्ति अभियानको मुल नारा भएको र भूतपस्या मनोक्रान्ति भित्रको जटिल युद्ध भएकोले यस्तो युद्ध जित्न कुनै हातहतियार आवाश्यक नपर्ने र सबैले मनोक्रान्तिबाट बदलिन सके संसार बदल्न हातहतियारको युद्ध गर्न नपर्ने साधक लिम्बूले बताए ।

 

भूतपस्यामा गुरुको आज्ञाअनुसार जमिनभित्र रहेर गुरुको उर्जाको गावा ध्यान, मन्त्र योग, चक्र साधनाजस्ता विधि अपनाएर साधना गरिने र यो सङ्कल्प आफूले गरिसकेको पनि साधक लिम्बूले दाबी गरेका छन् ।

 

मनोक्रान्ति अभियानका विदेश विभाग प्रमुख तथा फक्ताङलुङमा आयोजना गरिएको साधनाका संयोजक भू-तपस्वी गजेन्द्र राज नेम्वाङ (योगी श्री णं) मनोक्रान्तिको अर्को रुप नै विकासानन्द फाउन्डेसन रहेको र यो फाउन्डेसन जीवन र जगतलाई बदल्ने अभियानमा रहेको बताए ।

 

२ पटकसम्म भू-तपस्या गरिसकेका उनले यस अभियानमा साधनाको अवधारणा पनि अघि सारेको उनको भनाइ छ । जीवन बदल्नको लागि साधनाको धेरै सशक्त आयामहरु हुने र त्यसमध्ये फक्ताङलुङमा हुन लागेको भू-तपस्या महत्त्वपूर्ण आयाम रहेको उनले दाबी गरे ।

 

जमिनमुनि सात दिनसम्म निराहार भू-तपस्या गर्नु चानचुने कुरा नभएको दाबी गर्दै कार्यक्रम समन्वयकर्ता फक्ताङलुङ एजुकेसन फाउन्डेसनका संस्थापक प्रिन्सिपल ओमविक्रम नेम्वाङले यसको लागि विद्यालय परिवार, आयोजक परिवार साथै सुरक्षाकर्मी समेतको निगरानी रहने बताए ।

 

विश्वासका लागि भू-तपस्यास्थलमा सिसी क्यामेराको व्यवस्था गरिएको उनले बताएका छन् । यस्तै, भू-तपस्या अवधिभर समयानुकूल वेदवाचन, भजन कीर्तनको कार्यक्रम रहेको र हरेक दिन सबैले गुरु उर्जा जल ग्रहण गर्न सकिने पनि उनले बताए ।

 

मनोक्रान्तिको द्रष्टा एवम् गुरु डा योगी विकासानन्द झापा र भारतको सिलिगुडीमा मोटिभेशनल कक्षा तथा हिप्नोसिस सेमिनार सञ्चालन गर्न चैत २० गते साताव्यापी भ्रमणमा झापा आइपुग्ने र सोही क्रममा भू-तपस्वी तिलक लिम्बूलाई चैत २३ गते जुस पिलाएर निराहार भू-तपस्याबाट बाहिर निकाल्ने कार्यक्रम रहेको संयोजक भू-तपस्वी गजेन्द्रराज नेम्वाङले जानकारी दिएका छन् ।

 

उनका अनुसार भू-तपस्याको औचित्य, आवश्यकता, जीवन र जगतको रुपान्तरणजस्ता विषयमा डा योगी विकासानन्दले विशेष प्रवचन दिने कार्यक्रम रहेको छ ।