झापा । अहिले बिहान काठमाण्डौ उपत्यका र गण्डकी प्रदेशको लमजुङ, गोरखा तथा लुम्बिनी प्रदेशको पाल्पाभन्दा पूर्व देशका धेरैजसो ठाउँमा बदली र केही ठाउँमा बर्षा भइरहेको छ ।
पर्साको मुडलीमा तीन घण्टामै ८१ मिलिमिटरभन्दा धेरै पानी परेको छ । पूर्वी तराईको धेरैजसो ठाउँमा पानी परेको छ । नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीकोसमेत प्रभाव रहेकोले बदली र बर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज देशका सबैजसो ठाउँमा बदली भएर मध्य र पूर्वका धेरैजसो ठाउँमा वर्षाको सम्भावना रहेको मौसमविद् गोविन्द झाले जानकारी दिए । साथै, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई ठाउँमा भारी बर्षाकोसमेत सम्भावना रहेको उनले बताए ।
देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै ठाउँमा हल्का हिमपातको सम्भावना पनि रहेको छ । पहाडीमा मेघ गर्जनसहित चट्याङ तथा मध्य र पूर्वका धेरै ठाउँमा हावाहुरीको सम्भावना रहेकोले सचेत रहन महाशाखाले अनुरोध गरेको छ ।