झापा । झापाको दमकमा एकै परिवारका पाँच जनामा हात्तीपाइले रोग लागेको फेला परेको छ । दमकको ९ मा एकै परिवारका पाँच जनामा हात्तीपाइले रोगको सङ्क्रमण रहेको पाइएको हो ।
हात्तीपाइलेविरुद्ध आमऔषधि सेवनको क्रममा नयाँ नयाँ हात्तीपाइले रोगको सङ्क्रमण भएका बिरामी फेला पर्न थालेका छन् । उक्त परिवारसहित आसपासमा जाँच तथा औषधि सेवनलाई प्रभावकारी बनाउन स्वास्थ्यकर्मीहरू परिचालित भएको दमक नगर स्वास्थ्य शाखाले जनाएको छ ।
नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख नगेन्द्र भट्टराईका अनुसार हात्तीपाइलेविरुद्ध आमऔषधि सेवन कार्यक्रमको क्रममा नयाँ नयाँ बिरामीहरू फेला परिरहेका छन् । ‘‘औषधि सेवनलाई सामान्यरूपमा लिएर इन्कार गर्दा समस्या धेरै देखिएको छ’, भट्टराईले भने ।
दमकमा ६० देखि ७० प्रतिशतले मात्र हात्तीपाइले रोगविरुद्धको औषधि सेवन गर्ने गरेको उनको भनाइ छ । यो पटक ९० प्रतिशत पुर्याउने लक्ष्य भए पनि लक्ष्यमा पुगिनसकेको भट्टराईले बताए । जानेबुझेका र पढेलेखेकाहरू नै औषधी सेवन नगर्नेमा बढी रहेका उनको भनाइ रहेको छ ।