झापा । झापामा लागूऔषध ब्राउन सुगरसहित दुईजना युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा अर्जुनधारा र बिर्तामोड नगरपालिकाका युवा छन् ।

 

प्रहरीका अनुसार अर्जुनधारा ३  मदनपुरका ३७ वर्षीय दिलबहादुर विश्वकर्मालाई अस्थायी प्रहरी चौकी खुदुनाबारीको टोलीले पक्राउ गरेको हो । विश्वकर्मालाई पक्राउ गरी इलाका प्रहरी कार्यालय अनारमनीमा ल्याई थप अनुसन्धान भइरहेको जनाइएको छ ।

 

गएराति ८ः३० बजेको समयमा खुदुनाबारीबाट खटिएको प्रहरी गस्ती टोलीले शंकास्पद अवस्थामा विश्वकर्मालाई फेला पारी चेकजाँच गर्दा प्लास्टिकसहित १ ग्राम ९६० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो ।

 

यसैगरी, बिर्तामोड नगरपालिका ५ बस्ने ३८ वर्षीय सुमन भन्ने सूर्यवंशी रायलाई पनि प्रहरीले ब्राउनु सुगरसहित पक्राउ गरेको छ । राति ८ बजेको समयमा मेचीनगर ६ स्थित पुरानो मेची पुलमा प्रहरी टोलीले भारततर्फबाट सिटी सफारीमा आउँदै गरेका रायलाई शंकित अवस्थामा फेला पारी सोधपुछ गर्दा उनको साथबाट प्लास्टिकसहित २ ग्राम ५३ मिलिग्राम ब्राउनसुगर फेला परेको थियो ।

 

रायलाई आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय काँकरभिट्टामा ल्याई थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।