झापा । मनसुन सक्रिय भएर पानी पर्न थालेपछि देशभर गर्मी घटेको छ। अस्ति बुधबारदेखि लुम्बिनी र सुदूरपश्चिममासमेत पानी पर्न थालेपछि पश्चिम तराईमा पनि गर्मी कम भएको छ । धनगढी, नेपालगञ्ज, दिपायल, वीरेन्द्रनगर, घोराही, डढेलधुराको तापक्रममा उच्च गिरावट आएको छ ।
पश्चिम तराईका विभिन्न ठाउँमा अस्ति बुधवारसम्म ४० डिग्री सेल्सियसभन्दा बढी तापक्रम मापन भएकोमा हिजो देशका सबै ठाउँको तापक्रम ४० डिग्री सेल्सियसभन्दा तल झरेको छ । मनसुन लुम्बिनी प्रदेशको पूर्वी क्षेत्रसम्म पुगेको र पर्सि आइतबारसम्म देशभर फैलिने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हाल मनसुनी प्रणालीको प्रभाव कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका अधिकांश भू–भागमा र लुम्बिनी प्रदेशका पूर्वी भू-भागमा रहेको छ । बाँकी भू-भागमा स्थानीय वायु र पश्चिमि वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अहिले कोशी प्रदेशमा आंशिकदेखि साधारणतया बदली तथा बाँकी भू–भागमा आंशिक बदली बदलीदेखि मौसम मुख्य सफा रहेको छ । गण्डकी प्रदेशको थोरै तथा कोशी, मधेश र बाग्मती प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ ।
आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशलगायत लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ ।