झापा । झापामा चट्याङले लागेर दुईजनाको मृत्यु भएको छ । आज बिहान वर्षासँगै परेको चट्याङले लागेर गौरीगञ्ज र कमलमा एक–एक जनाको मृत्यु भएको हो ।
मृत्यु हुने दुवैजना पुरुष हुन् । बिहान ८ः४५ बजेको समयमा गौरीगञ्ज गाउँपालिका ३ ठेकिटोला बस्ने सिताराम दाहालको खेतबारीमा धानको बीउ उखाल्ने क्रममा गौरादह नगरपालिका वडा नम्बर ८ बस्ने अन्दाजी ४२ वर्षका लिला भन्ने विकास गिरीको चट्याङले लागेर घटनास्थलमै मृत्यु भएको हो ।
यसैगरी, कमल गाउँपालिकामा चट्याङले लागेर एक जनाको मृत्यु भएको छ । आज बिहान ७ बजेको समयमा कमल गाउँपालिका वडा नम्वर २ समाइगढ बस्ने ४६ वर्षीय राजन खड्काको चट्याङले लागेर मृत्यु भएको हो ।
आफ्नै घरबाट खेततर्फ जाने क्रममा अचानक परेको चट्याङले लागेर घाइते भएका खड्कालाई उपचारको लागि आम्दा अस्पताल दमक लगिएकोमा बिहान ७ः४५ बजे अस्पताल पुर्याउनासाथ चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।