झापा । गएको रातीदेखि देशैभरि लगातार परिरहेको झरी आजदेखि कम हुँदै जाने भएको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हिजो दिउँसो विशेष मौसम बुलेटिन निकालेर आजदेखि क्रमिकरूपमा वर्षाको मात्रा कम हुँदै जाने जानकारी गराएको हो ।
मनसुनी न्यून चापीय रेखा दक्षिणतिर सर्ने भएकाले मनसुनको सक्रियता घट्ने महाशाखाको सूचनामा उल्लेख छ । पछिल्ला तीन दिन मनसुनी न्यून चापीय रेखा नेपाल नजिक भएकाले देशैभरि वर्षा भएको थियो ।
आजदेखि वर्षाको क्रम घटे पनि कोशी र गण्डकी प्रदेशका धेरैजसो ठाउँमा हल्कादेखि मध्यम वर्षा र थोरै ठाउँमा अत्यधिक वर्षाको सम्भावना यथावत् छ । मधेश, बाग्मती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
विभागले सोमबारसम्मै अधिकांश प्रदेशमा भारी वर्षा हुने सम्भावना रहेको अनुमान पनि गरेको छ । पूर्वअनुमान बुलेटिनमा सोमबार केही स्थानमा भारी वर्षाको सम्भावना रहेको उल्लेख छ । बाढी, पहिरो, डुबानको समेत जोखिम हुनसक्ने भएकाले विभागले सतर्कता अपनाउन अपिल गरेको छ ।