काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेकाले अहिले देशभर साधारणतया बदली रहेको छ । बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरूमा तथा कोशी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोशी प्रदेशलगायत बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा तथा बाँकी भू-भागका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यस्तै आज राति देशभर साधारणतया बदली रहने छ । लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरू तथा बाँकी प्रदेशका केही स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।