काठमाण्डौ । काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा केही दिनदेखि दिउँसो घाम लाग्ने र राति पानी पर्ने हुन थालेको छ । गएराति देशका धेरै ठाउँमा पानी परेकोमा अहिले भने बिहानैदेखि चर्को घाम लागेको छ ।

 

देशका धेरै ठाउँको मौसमको अवस्था अहिले यस्तै रहेको मौसमविद मिनकुमार अर्यालले जानकारी दिए । उनकाअनुसार मनसुन कम सक्रिय भएको बेला दिउँसो घाम लाग्ने र राति पानी पर्ने हुन्छ ।

 

अबको केही दिन मौसम यस्तै रहने र त्यसपछि मनसुन थप सक्रिय भएर देशका धेरै ठाउँमा दिउँसोसमेत पानी पर्ने सम्भावना रहेको उनले बताए ।

 

केही दिनदेखि मनसुन कम सक्रिय हुँदा दिउँसो केही ठाउँमा मात्रै पानी पर्ने गरेको छ । तर, मनसुन थप सक्रिय भएपछि दिउँसो र रातिसमेत धेरै ठाउँमा पानी पर्ने मौसमविद् अर्यालले बताए ।

 

आज कोशी, मधेस, बाग्मती र गण्डकी प्रदेशका एक, दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।