झापा । देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेकाले प्रायःजसो रातको समयमा पानी बढी परेको मौसमविद रोजन लामिछानेले बताएका छन् ।

 

मौसम पूर्वानुमान महाशाखाकाअनुसार आज दिउँसो कोशी, बाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा तथा मधेस प्रदेशका थोरै ठाउँमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

 

कोशी, बाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको महाशाखाले बताएको छ । आज राति कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक-दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

 

महाशाखाकाअनुसार राति भने देशभर आंशिकदेखि साधारणतया बदली रही कोशी, बाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा तथा मधेस र लुम्बिनी प्रदेशका एक-दुई ठाउँमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

 

अस्ति मङ्गलबार रातिदेखि हिजो दिउँसोसम्म देशका धेरै ठाउँमा ठूलो पानी परेकोमा गएरातिदेखि भने मौसममा केही सुधार भएको छ । राति कोशी, मधेश र बाग्मती प्रदेशका विभिन्न ठाउँमा हल्का पानी परेको छ ।

 

पछिल्लो १२ घण्टामा सबैभन्दा धेरै ओखलढुङ्गाको मानेभञ्ज्याङमा ६५ दशमलव ८ मिलिमिटर पानी परेको छ । काठमाण्डौ उपत्यकासहित अरु ठाउँमा भने फाट्टफुट्ट मात्रै पानी परेको छ ।