सुनसरी । कोशी ब्यारेज पुलमा सर्वसाधारणको चाप र बोलबम जानेहरूको आगमनलाई ध्यानमा राखेर पुलमा पैदल हिँड्न र चढ्न निषेध गरिएको छ ।
वार्षिकरूपमा कोशी ब्यारेज पुलमा चढ्ने र केहीले आत्महत्याको प्रयाससमेत गर्ने गरेको तथ्यलाई ध्यानमा राखेर कोशी ब्यारेज प्रहरीले प्रवेश निषेध लेखिएको पेपर टाँसेर निषेध गरिएको हो ।
कोशी र मधेस प्रदेशको सिमानामा पर्ने सप्तरी र सुनसरी जोड्ने कोशी ब्यारेज पुलमा चढ्न तथा ढोका नजिक भएर हिँड्न प्रवेश निषेध गरेको सूचनासहित प्रवेश निषेध लेखिएको पेपर टाँसिएको छ ।
भारत र नेपालको विभिन्न ठाउँबाट आएका मानिसहरूले पटक पटक हाम फालिरहेको अवस्थामा प्रहरीले उद्धार गर्नुपर्ने र साउन महिनामा बोलबमका लागि जल भर्न विभिन्न ठाउँबाट आएको मानिसहरूले समेत कोशी ब्यारेजको पुलबाट हाम फालेको विगतको घटनालाई ध्यानमा राखेर कोशी पुलमा प्रहरीले निषेध गरिएको पेपर टाँसिएको हो ।
प्रहरी चौकी कोशी ब्यारेजका प्रहरी नायब निरीक्षक सुभाषचन्द्र सुनुवारका अनुसार आर्थिक वर्ष २०८०/०८१ मा ७५ जनाको उद्धार गरिएको छ । कोशी पुलमा घुम्न आएको र सेल्फी वा फोटो खिच्ने बाहानमा अचानक हाम फालेर आत्महत्या गर्ने प्रयास गर्ने गरेकोले त्यसमा ध्यानमा राखेर निषेध क्षेत्र घोषणा गरेको सुनुवारले बताए ।
आइतबारको बिहानैदेखि सोमबार बिहानसम्म कोशी पुलमा जल भर्नको लागि विभिन्न ठाउँबाट आएको भक्तजनहरूले कोशी पुलमा जल भरेर विभिन्न ठाउँको भोलेनाथ, शिव मन्दिरमा जल चढाउन जाने गरेका छन् ।