बिर्तामोड । झापामा तेस्रो लिङ्गीको नाममा आतङ्क बढ्दै गएको छ । आफूले भनेजति रकम दिनुपर्ने, नदिए धम्की दिने, गाली गर्ने, अश्लील शब्द प्रयोग गर्ने, शरीरका सम्वेदनशील अंग देखाउने कार्यले स्थानीय आतङ्कित बनेका छन् ।
तेस्रो लिङ्गी आउँदा भाग्नुपर्ने अवस्था आएको सर्वसाधारणहरू बताउँछन् । शुक्रबार साँझ बिर्तामोड ३ सैनिकमोडस्थित विराट बहुउद्देश्यीय सहकारी संस्थामा उनीहरूले जबर्जस्ती रकम असुल्न खोजेका थिए ।
पाँच हजार सहयोग मागेकोमा आफूहरूले त्यति दिन नसक्ने बताएपछि तथानाम शब्द प्रयोग गरी उनीहरूले अश्लील हर्कत देखाएको सहकारीका प्रबन्धक रुद्र सिटौलाले बताए । सम्झाइ बुझाई गर्दा नटेरेपछि प्रहरी बोलाएर उनीहरूलाई हटाउनु परेको सिटौलाले जानकारी दिए ।
विराट सहकारीसहित अन्य ठाउँमा पनि उनीहरूले थर्काउँदै सहयोग मागेको स्थानीयले बताएका छन् । बिर्तामोडमा केही महिनादेखि तेस्रो लिङ्गीको नाममा पसल-पसल र घर-घरमा गएर चन्दा माग्ने क्रम बढेको छ । त्यस विषयमा पीडितहरूले प्रहरीलाई जानकारी गराएका छन् ।
तर, उनीहरूलाई रोक्न सकिएको छैन । केही दिनअघि एक जना तेस्रो लिङ्गीलाई पक्राउ गर्दा उनीहरूले प्रहरी कार्यालय घेराउ गरेको बताइएको छ । बिर्तामोडमा नेपाल र भारतका गरी करिब सय जनाले तेस्रो लिङ्गीको नाममा सहयोग सङ्कलन गरिरहेको जनाइएको छ ।