झापा । भारतबाट लागूऔषध भित्र्याउन खोज्ने दुईजना मेची पुलमा पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा दमक ११ का २४ वर्षीय निलजंग बस्नेत र उर्लाबारी २ का २४ वर्षकै खुमराज भण्डारी रहेका छन् ।
हिजो साँझ ६ बजे मेचीनगर ६ स्थित पुरानो मेची पुलमा लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको टोलीले नेपालतर्फ आउँदै गरेका बस्नेतलाई शंका लागेर चेकजाँच गरेको थियो ।
त्यसक्रममा उनको साथबाट प्लाष्टिकसहित ३ ग्राम २३० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो । त्यस्तै हिजो साँझ सवा ६ बजे सोही मेची पुलमै प्लाष्टिकसहित ५ ग्राम ८१० मिलिग्राम ब्राउन सुगरसहित भण्डारी पक्राउ परेका हुन् ।
मुखभित्र लुकाई छिपाई ब्राउनसुगर ल्याउँदै गर्दा उनी पक्राउ परेका हुन् । दुवै जनालाई इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखी थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।