फिदिम । पहाडी जिल्ला पाँचथरमा स्क्रब टाइफस र डेङ्गुका बिरामी बढेका छन् । जिल्लामा स्क्रब टाइफस देखिएको यो पहिलो पटक हो ।

 

पाँचथर जिल्ला अस्पतालका मेडिकल रेकर्ड अधिकृत नबिन रेग्मीका अनुसार गत वर्षसम्म पॉचथरमा स्क्रब टाइफसका बिरामी भेटिएका थिएनन् ।

 

यो वर्ष साउन १ देखि भदौ २५ गतेसम्म ४४ जनामा स्क्रब टाइफसको संक्रमण पुष्टि भइसकेको छ । तीमध्ये अधिकांश उपचारपछि घर फर्के पनि ४ जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

 

मौसमी ज्वरो, टाइफाइड र घाँटीको संक्रमण बढेसँगै यहाँका अस्पतालहरुमा बिरामीको चाप बढेको छ । यो अवधिमा ३८ जनालाई डेंगुको संक्रमण पुष्टि भएको पनि रेग्मीले बताए ।

 

गत वर्ष जिल्लामा ८४५ जनालाई डेंगुको संक्रमण पुष्टि भएको थियो । पाँचथर अस्पतालमा दैनिक २ सय हाराहारीमा बिरामी आउने गरेकोमा ४० जनाभन्दा धेरैमा ज्वरोसँग सम्बन्धित समस्या देखिने गरेको अस्पतालको तथ्याङ्कमा उल्लेख छ ।