काठमाण्डौ । देशका धेरै ठाउँमा मेघगर्जन र चट्याङसहित पानी परिरहेको छ । धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भए पनि केही ठाउँमा भने ठूलो पानी परेको छ ।
भोलि बेलुकासम्म नै लगातार पानी पर्ने सम्भावना रहेको मौसमविद गोविन्द झाले जानकारी दिएका छन् । उनका अनुसार पर्सि आइतबार बिहान पनि केही ठाउँमा पानी पर्ने सम्भावना छ । आइतबार दिउँसो या बेलुकीदेखि मौसममा क्रमिक सुधार हुने उनले बताए ।
गएरातिदेखि नै ठूलो पानी परेका ठाउँमा रहेका खोला र नदीहरुमा बाढी आएको छ । नारायणी, कन्काई, कमला, बागमती, राप्ती, बबई लगायतका नदीहरुमा आज र भोलि बाढीको जोखिम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पर्सि आइतबारसम्म नै ठूलो पानी पर्ने सम्भावना भएकाले आज र भोलि पहाडी र हिमाली क्षेत्रमा रात्रि बस नचलाउन सरकारले आग्रह गरेको छ । आइतबारसम्म ५६ वटा जिल्लामा ठूलो पानी पर्ने भएकाले पहाडी र हिमाली जिल्लामा रात्रि बस नचलाउन आग्रह गरेको हो ।