बिर्तामोड । झापाको बिर्तामोड १० स्थित ठुटेबरमा भएको मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय अनिष न्यौपाने रहेका छन् ।

 

आइतबार राति अन्दाजी ८ः३० बजे १० ठुटेबरमा बिर्ताबजारबाट सैनिकबजारतर्फ जाँदै गरेको प्र १-०१-०१२ प ५८९१ नम्बरको मोटरसाइकलले विपरीत दिशाबाट आउँदै गरेका साइकलयात्रीलाई जोगाउने क्रममा आफैँ अनियन्त्रित भई पल्टिएको थियो ।

 

दुर्घटनामा मोटरसाइकल चालक बिर्तामोड १० का २७ वर्षीय न्यौपाने गम्भीर घाइते भएका थिए । टाउको र दुवै खुट्टामा चोट लागेको अवस्थामा न्यौपानेलाई उपचारका लागि बीएण्डसी हस्पिटल लगिएकोमा उपचारका क्रममा आज दिउँसो २ बजे मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

 

मोटरसाइकलमा पछाडि सवार सोही ठाउँका अन्दाजी ३८ वर्षीय टिकाराम राय घाइते भएका छन् । उनको बीएण्डसी अस्पतालमै उपचार भइरहेको छ । मोटरसाइकल अस्थायी प्रहरी चौकी सैनिक बजारको नियन्त्रणमा रहेको छ ।