शनिश्चरे । झापाको अर्जुनधारा १ मा रहेको हचुमासा सामुदायिक वन उपभोक्ता समूहले चालु आर्थिक वर्षका लागि गरिबी न्यूनीकरणलाई जोड दिएको छ ।
समूहको आज सम्पन्न २८औँ वार्षिक साधारणसभा प्रस्तुत वार्षिक कार्यक्रममा सबैभन्दा बढी गरिबी न्यूनीकरण कार्यक्रमलाई ३९ लाख १९ हजार १९७ रुपैयाँ बजेट प्रस्ताव गरिएको छ ।
समूहका सहसचिव देउकुमार नेम्वाङले प्रस्तुत गरेको आर्थिक प्रतिवेदनमा कुल एक करोड पाँच लाख ९२ हजार ४२४ रुपैयाँको बजेटमध्ये ३७ प्रतिशत रकम प्रस्ताव गरिएको हो ।
जसअन्तर्गत उपभोक्तालाई परम्परागत ढाका बुनाइ तालिम, विपन्न वर्गका युवा लक्षित सीपमुलक कार्यक्रम, जेहेन्दार विद्यार्थीलाई प्राविधिक शिक्षा, महिला क्षमता अभिबृद्धि तालिम समेटिएको छ ।
यसैगरी, पर्यापर्यटन विकास र हरित रोजगारी कार्यक्रम, विपन्न परिवारलाई ग्यास भरिएको सिलिण्डर तथा विद्युतीय चुल्हो वितरण, अति विपन्न परिवारलाई आवास निर्माण र महिला उद्यमी कार्यक्रममा रकम प्रस्ताव गरिएको छ ।
यस्तै, समूहले वन विकासतर्फ २६ लाख ४८ हजार १०६ रुपैयाँ, प्रशासनिकतर्फ १५ लाख ८८ हजार ८६३ रुपैयाँ, काठ दाउरा संकलनतर्फ १३ लाख ७७ हजार १५ रुपैयाँ, सामाजिक विकासतर्फ ६ लाख ३५ हजार ५४५ र विविध तथा भैपरी खर्चतर्फ ४लाख २३ हजार ६९६ रुपैयाँ प्रस्ताव गरिएको छ ।
९०६ घरधुरी उपभोक्ता रहेको यस समूहले गत आवमा ८५ लाख ४५ हजार १५९ रुपैयाँबराबरकाे काराेबार गरेको आर्थिक प्रतिवेदनमा उल्लेख गरिएको छ ।
समूहका अध्यक्ष चन्द्रप्रसाद प्रसाईले प्रस्तुत गरेको प्रतिवेदनमा वन विकास तथा वन संरक्षण कार्य, गरिबी न्यूनीकरण कार्यक्रम, सामाजिक विकास कार्यक्रमलगायत कार्य सम्पन्न गरिएको उल्लेख छ ।
अध्यक्ष प्रसाईले समूहको व्यवस्थित कार्यालय भवन निर्माण गर्ने, पर्यटकीय क्षेत्र विस्तार गर्ने, वन संरक्षणसँगै विभिन्न आयमुलक कार्यक्रम गर्ने लक्ष्य लिइएको प्रतिवेदनमा जनाइएको छ ।
कार्यक्रममा उत्कृष्ट वन हेरालु भक्त ल्वागुन, ६ नम्बर टोललाई उत्कृष्ट टोल घोषणा गर्दै नगद पुरस्कार प्रदान गरिएको थियो भने निजी वनतर्फ चन्द्रध्वज एक्तेन, परम्परागत खेतीतर्फ गंगा गिरी र कृषि तथा पशुपालनतर्फ यामनाथ गिरीलाई नगदसहित सम्मान गरियो ।
यस्तै, संस्थापक अध्यक्ष प्रेम खत्री, पूर्व अध्यक्षहरु विष्णुप्रसाद प्रसाईं, विजेन्द्रकुमार एक्तेन र रामबहादुर निरौला, जग्गादाता रुद्रप्रसाद दाहाललाई समूहले सम्मान गरेको छ ।
समूहकी सचिव प्रभा नेपालको सञ्चालन तथा उपाध्यक्ष सन्त मगरको स्वागत मन्तव्य रहेको कार्यक्रममा अर्जुनधारा नगरपालिकाकी उपप्रमुख खड्गमाया पराजुली, अर्जुनधारा १ का वडाध्यक्ष उपेन्द्र बस्नेत, कनकाई सव डिभिजन कार्यालयका कावा प्रमुख सुरेशकुमार खनाल, नगर सामुदायिक वन महासंघका अध्यक्ष भानुभक्त श्रेष्ठले आफ्ना भनाइ राखेका थिए ।
यसैगरी, नेकपा एमालेका माधव आचार्य, नेकाका मदन ढकाल, माओवादी केन्द्रका दुर्गा पौड्याल, सिंहदेवी मावि व्यवस्थापन समितिका अध्यक्ष विष्णु ढकाल, सयपत्री युवा समूहका अध्यक्ष पवन खनाललगायतले शुभकामना दिएका थिए ।