काठमाण्डौ । देशभरि चिसो बढ्न थालेको छ । आज बिहान ५ बजेर ४५ मिनेटमा काठमाण्डौको न्यूनतम तापक्रम १५ दशमलव ४ डिग्री सेल्सियसमा झरेको छ । बितेको २० दिनमै काठमाण्डौको तापक्रम ५ डिग्री सेल्सियसले घटिसकेको छ ।

 

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार ‘पोस्ट मनसुन’को अवस्था रहेकोले अहिले देशभर नै चिसो बढिरहेको हो । पश्चिमी वायु र स्थानीय वायुको समेत प्रभावले केही ठाउँमा बदली र वर्षासमेत भएकोले चिसो झनै बढेको मौसमविद् लामिछानेको भनाइ छ ।

 

अब चिसो बढ्दै जाने भएकोले चिसोबाट जोगिने उपयाहरूको व्यवस्था गर्नुपर्ने उहाँको सुझाव छ । यसैबीच अहिले कोशी, मधेश, बाग्मती, कर्णाली, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक, दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

 

देशभर पश्चिमी वायुको प्रभाव रहनुका साथै स्थानीय वायुको पनि केही प्रभाव रहेकोले केही ठाउँमा बदली र वर्षा भइरहेको महाशाखाले जनाएको छ । आज दिउँसो कोशी, मधेश, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ ।

 

महाशाखाका अनुसार आज राति कोशी, मधेश, बाग्मती, गण्डकी र लुम्बिनीलगायत बाँकी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोशी, मधेश, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।