खुदुनाबारी (झापा) । खुदुनाबारी गोल्डकपको चौथो संस्करण कात्तिक २६ गतेदेखि हुने भएको छ । अर्जुनधारा नगरपालिकाको १, २ र ३ नम्बर वडाको संयुक्त आयोजनामा हुने गोल्डकप हुन लागेको हो ।

 

गोल्डकपको चौथो संस्करणलाई अन्तरपालिकास्तरीय फुटबल प्रतियोगिताको रुपमा सञ्चालन गरिन लागेको प्रतियोगिताका संयोजक तथा अर्जुनधारा ३ का वडाअध्यक्ष सिताराम भट्टराईले आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

 

मंसिर ५ गते फाइनल खेल हुने प्रतियोगितामा झापाका ८ वटा नगरपालिका, आयोजक र इलामको माइ नगरपालिका सहभागी हुने उनले बताए । झापाका पालिकाहरुमा अर्जुनधारा, बिर्तामोड, भद्रपुर, मेचीनगर, कनकाई, शिवसताक्षी, गौरादह, दमक रहेका छन् ।

 

अर्जुनधारा ३ को प्राकृतिक रंगशाला कैदलेमा हुने प्रतियोगिताको विजेताले १ लाख ११ हजार २११ र उपविजेताले ५५ हजार ६५५ रुपैयाँ पुरस्कार पाउने छन् । प्रतियोगिताको प्रथम पुरस्कार खुदुनाबारीका अग्रज व्यक्तित्व स्व डिल्लीविक्रम नेम्वाङको स्मृतिमा छोराहरु दानेन्द्र र कर्वेन्द्र नेम्वाङले प्रदान गर्ने अर्जुनधारा ३ का वडासचिव तथा आयोजक समितिका सचिव खगेन्द्र लिङदेनले जानकारी दिए । त्यस्तै हाल अमेरिकामा रहेका प्रेम दुलालले दोस्रो पुरस्कार प्रायोजन गवरेका छन् ।

 

प्रतियोगिता सम्पन्न गर्न १५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई ५ हजार, बेस्ट स्कोरर, बेष्ट डिफेण्डर, बेष्ट कोच, बेष्ट फरवार्ड, बेष्ट किप्परले जनही ७ हजार रुपैया पुरस्कार पाउने आयोजकले बताएको छ ।

 

पत्रकार सम्मेलनमा अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेबसिंह गोम्देन, झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले मामा, अर्जुनधारा २ का वडाअध्यक्ष नरेन्द्रकुमार श्रेष्ठ, पूर्व उपप्रमुख कमला खतिवडालगायतले आफ्ना भनाइ राखेका थिए ।