झापा । हरेक वर्ष कात्तिक कृष्ण त्रयोदशीदेखि शुरू हुने तिहारको यमपञ्चक आजदेखि विधिवत् रुपमा शुरू हुँदैछ । कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीया पाँच दिनसम्म अर्थात् भाइटीकाका दिनसम्म यमदीपदान गर्ने शास्त्रीय विधि छ ।

 

आज बिहान ११ बजेर एक मिनेटसम्म द्वादशी र त्यसपछि त्रयोदशी तिथि लाग्ने भएकाले यमपञ्चक आजदेखि शुरू भएको हो । आज धनतेरस अर्थात् धनत्रयोदशी मनाइँदैछ । धनतेरसका दिन सुनचाँदीलगायतका गहना, सिक्का किन्ने गरिन्छ ।

 

कात्तिक १८ गते आइतबार यसवर्षको भाइटीका मनाइँदैछ । बिहान ११ बजेर ३७ मिनेटमा भाइटीकाको शुभसाइत रहेको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए ।

 

तर, बेलुकी सूर्यास्त नभएसम्म भाइटीका लगाउन कुनै समस्या नरहेको समितिले जनाएको छ । किजापूजा पनि कात्तिक १८ गते नै गरिन्छ । तिहारको अवसरमा किनमेल, तयारी र अन्य काम शुरू भइसकेका छन् ।