इलाम । सन्दकपुर ५ जमुनामा जारी कागे मेला २०८१ को खुल्ला पुरूषतर्फको फुटबलमा झापाको शनिश्चरे फुटबल क्लब च्याम्पियन बनेको छ । झापाले सानदार जिसँगै उपाधि उचालेको हो ।

 

आज भएको फाइनल खेलमा इलाम गुरुङ समाज काठमाडौँलाई ३-१ गोलअन्तरमा पराजित गर्दै शनिश्चरे झापाले उपाधि रक्षा गरेको हो । फाइनल खेलको पहिलो गोल शनिश्चरेका देवेन्द्र तामाङले फ्रिकिकमार्फत गरेका हुन् ।

 

पहिलो हाफ १-० गोलको स्थितिमा रहेको शनिश्चरेले दोस्रो हाफको सुरुवातमै २-० गोलको अग्रता बनायो । शनिश्चरेका लागि प्रदिप बुढाथोकीले टिमको अग्रता दोब्बर बनाएका हुन् ।

 

यसैगरी, झापाका तेस्रो गोल सौरभ सुब्बाको नाममा रह्यो । सौरभले देवेन्द्र तामाङको पासमा गोल गरेका हुन् भने गुरुङ समाजका लागि रोजन घलेले सान्तवना गोल गरेका हुन् ।

 

विजेता झापाको शनिश्चरे एफसीले एक लाख ५० हजारसहित तीन वर्षे रनिङ ट्रफी पाएको छ भने उपविजेताले ७५ हजारमा चित्त बुझाएको छ ।