खुदुनाबारी । बिर्तामोड नगरपालिकाले चौथो खुदुनाबारी गोल्डकप (अन्तर नगरपालिकास्तरीय खुल्ला नकआउट फुटबल प्रतियोगिता)मा विजयी सुरुआत गरेको छ ।

 

अर्जुनधारा ३ स्थित कैदले प्राकृतिक रंगशालामा आज भएको उद्घाटन खेलमा अर्जुनधारा नगरपालिकालाई १-० गोलअन्तरले पराजित गर्दै बिर्तामोड विजयी बनेको हो ।

 

बिर्तामोडका लागि दोस्रो हाफको अन्तिम ३ मिनेटमा श्याम मुर्मुले गोल गरे । खेलमा एकमात्रै गोल गर्न सफल बिर्तामोडका मुर्मु ‘म्यान अफ दि म्याच’ घोषित भए । उनले नगद ५ हजार पाए ।

 

उनलाई प्रमुख अतिथि अर्जुनधाराका मेयर बलदेव गोम्देन तामाङ, प्रतियोगिताका संयोजक सिताराम भट्टराई र शनिश्चरे बहुमुखी क्याम्पसका सहायक प्रमुख कृष्ण थापाले पुरस्कार प्रदान गरे ।

 

‘हाम्रो शान, हाम्रो अभियान, खुदुनाबारी गोल्डकप हाम्रो पहिचान’ भन्ने नारासहित सुरु भएको गोल्डकपलाई अर्जुनधारा नगरपालिकाको १, २ र ३ नम्बर वडाले संयुक्तरुपमा आयोजना गरेको हो । भोलि आयोजक टिमसँग भद्रपुर नगरपालिकाको टिमले प्रतिस्पर्धा गर्ने आयोजक समितिका सचिव खगेन्द्र लिङदेनले जानकारी दिए ।

 

प्रतियोगितामा झापाका आठ वटा नगरपालिकासहित १० टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले १ लाख ११ हजार २११ र उपविजेताले ५५ हजार ६५५ रुपैयाँसहित ट्रफी पाउने छ । प्रतियोगिताको बेस्ट स्कोरर, बेष्ट डिफेण्डर, बेष्ट कोच, बेष्ट फरवार्ड, बेष्ट किपरले जनही ७ हजार रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ ।