ताप्लेजुङ । गतवर्ष देखिनै अवरुद्ध पाँचथरको भालुचोकदेखि धनकुटाको मुलघाट-भेडेटार-धरान हुँदै इटहरी जोड्ने तमोर करिडोर खुलेको छ । एपेक्स कन्स्ट्रक्सन प्रालिले हेवाखोलामा हृयुम पाइप राखेर सडक खुलाएको हो ।

 

कम्पनीका प्रोजेक्ट मेनेजर अभि पोख्रेलका अनुसार सोमबारदेखि साना ठूला सबै सवारी चल्न थालेको छ । ‘सडक चाहिँ शनिबार बेलुका नै खुलेको हो,’ पोख्रेलले भने, ‘आइतबार बालुवामा केही गाडी फसे, सोमबार त्यसलाई ग्राभेल लगाएर व्यवस्थित गरेर यातायात चल्ने बनाएका छौं ।’ अब सबैखाले यातायात चल्ने भएको उनले बताए ।

 

पोख्रेलका अनुसार हेवा खोलामा ९० एमएमको १४ वटा ह्युम पाइप राखिएको छ । माझिटार छेउमा रहेको मोटरवेल पुल गत वर्षको वर्षाले बगाएको थियो । हिउँदमा खोलो घटेपछि साना सवारीसाधन सामान्य चलेका थिए । गत असोज १० देखि १२ गतेको वर्षाले त्यही सडक पनि पूरै बगाएको थियो । अहिले ह्युम पाइप राखेपछि व्यवस्थित भएको कम्पनीले जनाएको छ ।

 

तमोर करिडोरका आयोजना प्रमुख प्रदीप निरौला आफूहरुसँग मर्मतको रकम नभएकाले निर्माण कम्पनीले नै बनाएको बताउँछन् । यो सडक खुलेपछि ताप्लेजुङलाई पनि राहत पुगेको छ । ताप्लेजुङ सदरमुकाम फुङलिङबाट पाँचथरको कावेली वा भालुचोक भएर यो सडकबाट यात्रा गर्न सकिन्छ । इकान्तिपुरबाट