सुरुङ्गा । झापामा फेरि गौहत्या भएको छ । कन्काई नगरपालिका ३ स्थित टप्पुबस्ती पूर्वमा आज गाई काटिएको हो ।

 

स्थानीय लीला संग्रौलाको इँटाको गारो र टीनको छानो भएको घर भाडा लिएर बसेका मुस्लिम थरका एक व्यक्तिले आफू बसेको घरमा लगेर गाई काटेका हुन् । उनले हरिकुल स्कुलनजिकबाट दुर्गा सिलवालको सो लैनो गाई राति चोरेर लगेको बताइएको छ ।

 

उनले राति नै सो गाई काटेको अनुमान गरिएको छ । ती मुस्लिम फरार भएका छन् । घटनास्थलमा प्रहरी टोली पुगेर अनुसन्धान गरिरहेको जनाइएको छ । केही महिनाअघि दमकमा गर्भिनी गाई हत्या गरिएको थियो ।

 

घटनापश्चात् गाई काट्नेलाई पक्राउ गरी कारबाहीको माग गर्दै श्री शताक्षी गोवर्द्धन गौशाला र सताक्षीधाम धार्मिक तथा पर्यटन विकास समितिका अध्यक्ष आचार्य नन्दकिशोर भारद्वाजको नेतृत्वमा विरोध प्रदर्शन गरिएको छ ।

 

गौ हत्याको विरोधमा अहिले सुरुङ्गा बजारमा नारा जुलुस गर्दै प्रदर्शन गरिएको छ । हत्या गरिएको गाईको शवलाई कोटीहोमतर्फ लगिएको छ । प्रदर्शनमा गाई मार्न पाइँदैन, हत्यारालाई फासी दे जस्ता नारा लगाउँदै कारबाहीको माग स्थानीयले गरेका छन् ।