झापा । नक्कली सुनको गरगहना भन्दै ठगी गर्ने गिरोहमा संलग्न झापाका चार र दुई भारतीय गरी ६ जनालाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको छ ।
पहेँलो धातुलाई सुन भन्दै सर्वसाधारणलाई झुक्याउने गिरोहका ६ जना पक्राउ परेका हुन् । मोरङ प्रहरीका एसपी नारायण चिमरियाले पत्रकार सम्मेलनमा भने,‘गिरोहले झापा, मोरङ र सुनसरीका विभिन्न स्थानमा सर्वसाधारणलाई ठगी गरेको पाइएको छ ।’
प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा झापाको कमल गाउँपालिका, बाँसबारी बस्ने ५२ वर्षीय अशोक तामाङ, झापाकै कन्काई नगरपालिका वडा नम्बर ९ घैलाडुब्बा बजार बस्ने ५९ वर्षीय धकलबहादुर थिङ, अर्जुनधारा नगरपालिका वडा नम्बर ११ बस्ने ५४ वर्षको प्रविन तामाङ रहेका छन् ।
यसैगरी, हल्दिवारी नगरपालिका वडा नम्बर ३ बाघडाँडा बस्ने ६६ वर्षीय रामबहादुर कन्दङवा छन् । त्यस्तै भारत बंगालको नक्सलबारीका ५१ वर्षीय नारायण गुरुङ र नक्सलबारी दयारामजोत बस्ने ३४ वर्षीय संजय शर्मा छन् ।
प्रहरीले अभियुक्तहरुको साथबाट सुनजस्तो देखिने पहेँलो धातु तिलहरी ४ थान, हार जस्तो देखिने मंगलसूत्र २ थान, सुन जस्तो देखिने टिल ८ थान, कानको रिङ, बेरुवा औठी, लकेट भएको सिक्री कानको झुम्का, ब्रासलेट र कानको रिङ १÷१ थान वरामद गरेको छ ।
त्यस्तै औठी १०, चाँदीको पाउजु ४, चाँदीको ब्रासलेट १, जी माला १, सिक्री १ , कालो पोते १ थान बरामद गरेको छ । साथै २ लाख ७२ हजार ४३० रुपैयाँ र २ हजार ६३० भारु बरामद गरेको छ ।