काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सको अपराजित यात्रा कायमै रहेको छ । आजको पहिलो खेलमा पोखरा एभेन्जर्सलाई हराउँदै जनकपुरले लगातार तेस्रो जित हासिल गरेको छ ।
जनकपुरले पोखरामाथि ७ विकेटको जित हात पार्यो । १३९ रनको मध्यम लक्ष्य जनकपुरले १७.१ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । जनकपुका लाहिरु मिलन्थाले सर्वाधिक ४५ रन बनाए । उनले ३२ बलमा ८ चौका प्रहार गरेका थिए । मिलन्था माइकल लिक्सको बलमा सागर ढकालबाट क्याच आउट भएका थिए ।
जिमी निशमले २० बलमा ५ छक्काको सहयोगमा नटआउट ४० रन जोडे । हर्ष ठाकरले १४ बलमा १ चौकाको सहयोगमा नटआउट १३ रन बनाए ।
आसिफ शेखले ३४ बलमा ३ चौकाको सहयोगमा ३३ जोडे । ३३ रन बनाउँदै आसिफ कुशल भुर्तेलको बलमा डूलो सट खेल्ने धुनमा विपिन खत्रीबाट क्याच आउट भए ।
पोखराका लागि माइकल लिस्क, कुशल भुर्तेल र विपिन खत्रीले समान १ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १३८ रनको मध्यम योगफल तयार गरेको थियो ।
पोखराका लागि म्याट क्रिचलेले सर्वाधिक ३५ रन जोडेका थिए । उनले ३० बलमा ३ चौका र १ छक्का प्रहार गरेका थिए । ३५ रन बनाउँदै क्रिचले ललित नारायण राजवंशीको बलमा कप्तान अनिलबाट क्याच आउट भए ।
ओपनर आन्द्रस गौसले १६ बलमा ३ चौका र १ छक्काको सहयोगमा २० रन जोडे । चौथो ओभरको अन्तिम बलमा ललित राजवंशीद्वारा गौस आउट भए । छक्का प्रहार गरे लगत्तैको अर्को बलमा फेरी छक्काको प्रयास गरेका गौस बाउन्ड्रिमा जनकपुरका मार्की खेलाडी आसिफ शेखबाट क्याच आउट भए ।
माइकल लिस्कले १३ बलमा ३ छक्काको सहयोगमा २५ रन जोडे । लिस्क इनिङको अन्तिम ओभरमा किशोर महतोको बलमा बाउन्ड्रिमा आसिफ शेखबाट क्याच भए । राइमन राइफरले २० बलमा १७ रन बनाए । राइफर जिमी निशमको बलमा कप्तान अनिल शाहबाट क्याच आउट भए ।
कप्तान कुशलले ६ बलमा १ चौकाको सहयोगमा ६ रन जोडे । ललितको बलमा विकेटकिपर लाहिरु मिलन्थाबाट स्टम्पीङ भए । दिलिप नाथ १४ बलमा ११ रन जोड्दै आउट भए । नाथ मोहम्मद मोहसिनको बलमा एलबिडब्लु धरापमा परे । जनकपुरका लागि ललितले ३, जिमी निशमले २ तथा मोहम्मद मोहसिन र किशोर महतोले समान १ विकेट लिए ।
लगातार तीन खेलमा ६ अंकका साथ जनकपुर लिगको शीर्ष स्थानमा छ । जनकपुरले पहिलो खेलमा विराटनगर किंग्स तथा दोस्रो खेलमा कर्णाली याक्सलाई समान ८ विकेटले हराएको थियो ।
पोखराको भने यो लगातार दोस्रो हार हो । पोखरा पहिलो खेलमा चितवन राइनोजसँग ८७ रनले पराजित भएको थियो । आजै हुने दोस्रो खेलमा काठमाडौं गुर्खाज र सुदूरपश्चिम रोयल्सबीच खेल हुनेछ ।