काठमाडौं । काठमाडौँ गुर्खाजलाई ७३ रनको फराकिलो अन्तरले पराजित गर्दै सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो स्थानमा उक्लिएको छ ।

 

नरेन साउदको पाँच विकेटको सहयोगमा सुदूरपश्चिमले जारी एनपीएलको दोस्रो स्थान अहिलेलाई सुरक्षित गरेको हो । आज भएको दोस्रो खेलमा सुदूरपश्चिमले दिएको १६८ रनको मध्यम लक्ष्य पछ्याएको काठमाडौंले १५.५ ओभरमा अलआउट हुँदै ९४ रनमात्र जोड्न सक्यो ।

 

काठमाडौंका लागि स्टेफन स्किनाजीले सर्वाधिक ३७ रन जोडे । उनले ३३ बलमा ५ चौका र १ छक्का प्रहार गरेका थिए । नरेन साउदले स्किनाजी, राशीद खानलाई आउट गराएसँगै सुदूरपश्चिम खेलमा पूर्णरुपले हाबी भएको थियो । कप्तान करण केसी ठूलो सट खेल्ने चक्करमा नरेन साउदको बलमा आउट भए ।

 

सुदूरपश्चिमका लागि नरेन साउदले ४ ओभरमा १९ रन खर्चिएर ५ विकेट लिए । अभिनास बोहोराले २ तथा ब्रन्डन म्याकमुलन र सेफ जैबले समान १ विकेट लिए । त्यसअघि पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६७ रनको योगफल तयार गरेको थियो ।

 

सुदूरपश्चिमका लागि ब्रेन्डन मक्मेलनले सर्वाधिक ५३ रन जोडे । जेहार्डको बलमा मक्मलेन आउट भए । मक्मेलन र विनोद भन्डारीले दोस्रो विकेटका लागि ८६ रनको साझेदारी गरे । विनोद साहब आलमको बलमा एलबिडब्लु आउट भए । दिपेन्द्रसिंह ऐरीले ४३ रन बनाए । दिपेन्द्र करण केसीको बलमा बाउन्ड्रीमा माइकल लेभिटबाट क्याच आउट भए ।

 

ओपनर सेफ जैबले ९ बलमा ११ रन जोडे । उनी राशिद खानको बलमा बोल्ड आउट भए । रोहन मुस्ताफले ७ बलमा ४ रन जोडे । मुस्ताफा राशिद खानको बलमा बोल्ड आउट भए । आरिफ शेख ३ रन बनाउँदै रन आउट भए ।

 

सुदूरपश्चिम लगातार दोस्रो जितका साथ दोस्रो स्थानमा उक्लिएको छ । पराजित काठमाडौंको ३ खेलबाट २ अंक भएको छ । शुक्रबारको पहिलो खेलमा कर्णाली याक्स र चितवन राइनोज तथा दोस्रो खेलमा पोखरा एभेन्जर्स र लुम्बिनी लायन्सबीच खेल हुनेछ ।