शनिश्चरे । झापाको अर्जुनधारा दोस्रो मेयर कप आमन्त्रित अन्तराष्ट्रिय कराते प्रतियोगिता हुने भएको छ । अर्जुनधारा ९ स्थित बाह्रघरे सितोरियो कराते डोजोको आयोजनामा प्रतियोगिता हुने भएको हो ।
आगामी पुस ६ गते स्थानीय श्री आधारभूत विद्यालयको खेलमैदानमा हुने प्रतियोगिताबारे आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।
खेलकुदको माध्यमबाट सकारात्मक समाज निर्माणमा योगदान पुर्याउने तथा स्थानीयस्तरमा कराते खेलाडी उत्पादन गर्ने उद्देश्यले आयोजना गरिएको डोजोका अध्यक्ष नारदमणि नेपालले बताए । उनका अनुसार आयोजक डोजोसहित झापा, इलाम, मोरङ, सुनसरी, भारत र भुटानका खेलाडी सहभागी हुने छन् ।
डोजोका प्रमुख प्रशिक्षक एवं डोजो व्यवस्थापन समितिका सचिव हेमलाल परियारका अनुसार प्रतियोगितामा ४५० जना खेलाडी सहभागी हुने अनुमान गरिएकाे छ ।
झापा जिल्ला सितोरियो कराते महासंघको प्राविधिक सहयोग रहने प्रतियोगितामा ५० जना अफिसियल सहभागी हुनेछन् । प्रतियोगितामा पुरुषतर्फ २० केजीदेखि ६५ केजीभन्दा माथि र महिलातर्फ २० केजीदेखि ५५ केजीभन्दा माथिका तौल समूहबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिता सम्पन्न गर्न ५ लाख ८० हजार खर्च लाग्ने अनुमान गरिएको छ । प्रतियोगिताबाट बचत भएको रकमले डोजो सञ्चालनसँगै डोजोको निर्माणाधीन भवनमा लगानी गरिने बताइएको छ ।
डोजोका अध्यक्ष नेपालको अध्यक्षतामा आयोजित कार्यक्रमममा प्रमुख अतिथि करातेका एकेएफ रेफ्री एवम् अर्जुनधारा ८ का वडाध्यक्ष कुमारप्रसाद उप्रेती, वडा सदस्य गौरीमाया चिमरिया, झापा जिल्ला सितोरियो कराते महासंघका अध्यक्ष जगन कार्कीलगायतले प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न पहल गर्ने बताएका छन् ।