झापा । नाबालिकालाई बलात्कार गरेको आरोपमा बिर्तामोड नगरपालिकाका पूर्व नगर प्रमुख ध्रुवकुमार शिवाकोटी पक्राउ परेका छन् ।
उनलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको छ । बिर्तामोडकी नाबालिकालाई बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय काँकरभिट्टामा उजुरी परेको र सोही उजुरीको आधारमा बिर्तामोड प्रहरीले पक्राउ गरेको प्रहरी स्रोतले जनाएको छ ।
उनलाई पक्राउ गरी सोधपुछ भइरहेको इलाका प्रहरी कार्यालय बिर्तामोडका एक प्रहरी अधिकृतले बताए । पीडित शिवाकोटीको बिर्तामोड ५ मा रहेको घरमा करिब ८ वर्ष अघिदेखि घरेलु कामदारका रुपमा काम गर्दै आएकी थिइन् ।
उनी अहिले १७ वर्षकी भएकी छिन् । उनी स्थानीय विद्यालयको कक्षा ११ मा पढ्छिन् । किशोरीलाई शिवाकोटीले पटकपटक करणी गरेको प्रहरीसँगको बयानमा खुलेको छ । शिवाकोटीलाई लामो समयदेखि करणी गरेको अभियोगमा सोमबार बिहान पक्राउ गरिएको हो ।