बिर्तामोड । प्रथम झापा कप २०८१ को दोस्रो क्वार्टर फाइनल खेल आज राष्ट्रिय जागृति क्लब इटहरी र भारतको गोर्खाल्यान्ड टेरिटोरियल अड्मिनिस्ट्रेसन (जिटिए) दार्जिलिङ बीच हुँदैछ ।

 

पहिलो चरणको खेलमा आयोजक झापा ११ लाई घरेलु मैदानमै हराएर क्वार्टर फाइनल प्रवेश गरेको इटहरी आज दोस्रो जित निकाल्ने लक्ष्यमा हुनेछ । गतवर्ष चैतको इटहरी गोल्डकपमा भारत दार्जिलिङको कञ्चनजंघा एफसीलाई टाइब्रेकरमा हराएको इटहरी वैशाखमा भएको भीमनारायण गोल्डकपको अन्तिम चारमा पुगेको थियो ।

 

बाइमा रहेको जिटिए दार्जिलिङ पहिलोपटक झापाली मैदानमा खेल्दैछ । यसअघि मंसिर अन्तिम साता इलाम गोल्डकपमा सहभागी भएको जिटिए एनआरटी काठमाडौँसँग पहिलो खेलमै पराजित भएको थियो ।

 

प्रतियोगिताको विजेताले नगद १० लाख तथा उपजिेताले नगद ५ लाख पुरस्कार पाउने आयोजक झापा ११ फुटबल क्लबका अध्यक्ष जलकुमार गुरुङले जानकारी दिए । प्रतियोगिताको फाइनल खेल पुस ८ गते हुनेछ ।