लक्ष्मीपुर । झापाको अर्जुनधारा-६ स्थित लक्ष्मीपुर तेक्वान्दो डोजाङले आयोजना गरेको प्रथम लक्ष्मीपुर जिल्लास्तरीय खुला तेक्वान्दो प्रतियोगितामा खुदुनाबारी तेक्वान्दो डोजाङ प्रथम भएको छ ।

 

पाँच स्वर्ण, दुई रजत र पाँच कास्य गरी जम्मा १२ वटा पदकसहित अर्जुनधारा ३ को डोजाङ प्रथम भएको होे । यस्तै चार स्वर्ण, चार रजत र चार कास्यसहित अर्जुनधारा ४ स्थित नवदुर्गा तेक्वान्दो डोजाङ द्वितीय र दुई स्वर्ण, एक रजत र चार कास्यसहित गौरीगञ्जस्थित शुभम तेक्वान्दो डोजाङ तृतीय भएको छ ।

 

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने डोजाङलाई नगद पुरस्कार क्रमश १० हजार, सात हजार र पाँच हजारसहित ट्रफी र प्रमाण पत्र प्रदान गरिएको छ । प्रथम, द्वितीय र तृतीय हुने डोजाङसहित विभिन्न तौल समूहका विजेता खेलाडीलाई झापा जिल्ला तेक्वान्दो संघका अध्यक्ष बाबुलाल सुब्बा, उपाध्यक्ष होमनाथ दुलाल, कोषाध्यक्ष विवेक गिरी, डोजाङका प्रमुख प्रशिक्षक मेचेलगायतले पुरस्कार वितरण गरेका थिए ।

 

स्थानीयस्तरमा तेक्वान्दो खेलको प्रबद्र्धन एवम् खेलाडी उत्पादन गर्ने उद्देश्यले डोजाङ स्थापना भएको २५ वर्षपछि झापाको अर्जुनधारा ६ मा रहेको लक्ष्मीपुर तेक्वान्दो डोजाङले पहिलोपटक प्रतियोगिता आयोजना गरेको हो ।

 

सोही कार्यक्रममा स्थानीय तीनपैनी क्षेत्रमा लक्ष्मीपुर तेक्वान्दो डोजाङलाई दुई कठ्ठा जमिन हस्तान्तरण गरिएको छ । अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देन तामाङले उद्घाटन गर्दै हस्तान्तरण गरिएको उक्त जमिनमा खेलाडीका लागि आवश्यक कबर्ड हल निर्माण गर्ने लक्ष्य रहेको झापा जिल्ला तेक्वान्दो संघका सचिव एवम् डोजाङका प्रशिक्षक योगेन्द्र रिजालले बताए ।