बिर्तामोड। झापामा निर्माण गरिएको कोशी प्रदेशकै सबैभन्दा लामो झोलुङ्गे पुलको उद्घाटन भएको छ। झापा क्षेत्र नम्बर १ का सांसद तथा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बिहीबार उक्त पुलको उद्घाटन गरेका हुन् ।
झापाको बुद्धशान्ति गाउँपालिका ६ र ७ नम्बर वार्डलाई जोड्ने स्थानीय टिमाई खोलामा बनेको उक्त झोलुङ्गे पुलको शिलान्याससमेत विश्वप्रकाश शर्माले ५ महिना पहिले गरेका थिए ।
स्थानीय वडा नम्बर ६ र ७ जोड्ने गरी टिमाई खोलामा बनेको सो पुलको लम्बाइ ४७७ मिटर लामो छ भने यसको निर्माणमा पाँच करोड ९८ लाख ७६१ रुपैयाँ खर्च भएको छ । पुल उदघाटन कार्यक्रममा पूर्व मुख्यमन्त्री उद्धव थापा, प्रदेश सभा सदस्यद्वय सविना बजगाईँ, निर्मला तावा र बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष मनोज प्रसाईंलगायतको उपस्थिति थियो ।
पुलको भारवहन क्षमता ९० मेट्रिक टन छ भने पुलबाट एकैपटकमा ६४७ जनाले ओहोरदोहोर गर्न मिल्ने बताइएको छ। पछिल्लो समय झापामा झोलुङ्गे पुल निर्माणले तिव्रता पाएको छ।
मेची राजमार्गबाट ५ सय मिटर पूर्व टिमाई खोलामाथि बनेकोे झोलुङ्गे पुल सञ्चालनमा आएपछि बुद्धशान्ति गाउँपालिकाका २ वटा वडा जोड्नुका साथै इलाम र झापाका थुप्रै सर्वसाधारणलाई आवत-जावतमा सहज हुने वडाध्यक्ष बुद्धशान्ति वडा नम्बर ६ का वडाध्यक्ष शिवराज पौडेलले जानकारी दिए ।