फिदिम । झापा बिर्तामोडको रेड स्टार एफसी पॉचथरको फिदिममा आयोजित दोस्रो अन्तराष्ट्रिय आमन्त्रण फिदिम भेट्रान्स गोल्डकपको च्याम्पियन बनेको छ ।
आज फिदिम माविको खेल मैदानमा सम्पन्न फाइनल खेलमा आयोजक फिदिम भेट्रान्स क्लबलाई ४-२ गोलअन्तरले पराजित गर्दै रेड स्टारले उपाधि जितेको हो । रेड स्टारको जितका लागि खेमराज पोखरेलले ह्याट्रिक गरे भने बुद्ध चेम्जोङको नाममा एक गोल रह्यो ।
फिदिमका लागि अशोक लिम्बू र सुवास लिम्बूले एक एक गोल गरेका हुन । उपाधिसँगै रेड स्टार झापाले १ लाख पॉच हजार ५५५ सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्यो । उपविजेता फिदिमले ५५ हजार ५५५ रुपैयाँमा चित्त बुझायो ।
फाइनल खेलको प्लेयर अफ दी म्याच रेड स्टारका कप्तान राजकुमार श्रेष्ठ घोषित हुँदै २ हजार २ सय प्राप्त गरे । विधागत उत्कृष्ट सर्वोत्कृष्ट खेलाडी रेड स्टारका भुपेन जबेगु, बेस्ट फरवार्ड रेड स्टारकै बुद्ध चेम्जोङ, बेस्ट किपर मिनबहादुर बस्नेत घोषित भए ।
यसैगरी, बेस्ट डिफेन्डर फिदिम भेट्रान्सका अनिल चुँडाल, बेष्ट मिडफिल्डर प्रदेश केसी, हाइ स्कोरर रेड स्टारका खेमराज पोखरेल घोषित हुँदा मस्ट भेट्रान्स प्लेयर बौद्ध भेट्रान्स रानीटारका हर्कराज नेम्बाङ बने ।
बेष्ट कोच रेड स्टारका प्रेमकृष्ण श्रेष्ठ घोषित भए । सर्वोकृष्ट खेलाडीले पॉच हजार र अन्य विधागत उत्कृष्ट खेलाडीले दुई हजार दुई सय प्राप्त गरे ।