अर्जुनधारा । झापाको अर्जुनधारा ७ मा आयोजित तेस्रो यु-१८ वडास्तरीय फुटबल प्रतियोगिताको आय-व्यय आइतबार सार्वजनिक गरिएको छ । शनिश्चरे एफसीले गत माघमा प्रतियोगिता आयोजना गरेको थियो ।
प्रतियोगिता संयोजक टेकराज तिलिङको अध्यक्षता र अर्जुनधारा ७ का वडाध्यक्ष गोविन्द खतिवडाको प्रमुख आतिथ्यमा हिसाब सार्वजनिक गरिएको हो । संयोजक तिलिङका अनुसार २ लाख २२ हजारभन्दा बढी रकम बचत भएको छ ।
खेलाडी उत्पादनसँगै किशोरहरुलाई दुव्र्यसनबाट टाढै राख्ने उद्देश्यले आयोजित प्रतियोगिताका लागि क्लबले सहयोगी दाताबाट ७ लाख ८९ हजार १८६ रुपैयाँ संकलन गरेको थियो भने कुल खर्च ५ लाख ६६ हजार ६८० भएको संयोजक तिलिङले बताए ।
बचत भएको रकमले फुटबलको विकास, ट्रेनिङ, कार्यालय सञ्चालन र टिम व्यवस्थापनमा खर्च गरिने आयोजकले जनाएको छ । बर्सेनि शनिश्चरे एफसीले १८ वर्षमुनिका खेलाडीबीच वडास्तरीय प्रतियोगिता गर्दै आएको छ ।
क्लबका सचिव हरि गुरुङले सञ्चालन गरेको कार्यक्रममा झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले ‘मामा’, नगर खेलकुद विकास समितिका संयोजक सुरेन्द्र धिमाललगायतको आतिथ्यता रहेको थियो । प्रतियोगिता गत माघ २० गतेदेखि २८ गतेसम्म सञ्चालन भएको थियो ।