झापा । एएफसी एशिएन कप २०२७ अन्तर्गत अन्तिम चरणको छनोट खेलमा नेपालले आज मलेसियासँग खेल्दैछ । खेल मलेसियाको ब्राहिम सुल्तान स्टेडियममा नेपाली समयअनुसार राति पौने ८ बजे शुरु हुनेछ ।

 

नेपालले गएको शुक्रबार अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा सिङ्कापुरलाई १-० ले हराएको थियो । सिङ्गापुरलाई ३६ वर्षपछि पहिलोपटक हराउन सफल नेपाली टोलीको मनोबल उच्च रहेकोले मलेसियासँग पनि उत्कृष्ट प्रदर्शन गर्ने नेपाली टोलीका मुख्य प्रशिक्षक म्याट रोसले बताएका छन् ।

 

फिफा वरीयातमा मलेसिया १३२औँ र नेपाल १७५औँ स्थानमा छ । नेपालले अहिलेसम्म मलेसियालाई हराउन सकेको छैन । नेपाल र मलेसियाबीच अहिलेसम्म सात वटा अन्तर्राष्ट्रिय खेल भएकामा नेपाल छ खेलमा पराजित भएको छ भने एक खेल बराबरीमा सकिएको थियो ।

 

नेपाल र मलेसियाबीच पछिल्लो पटक सन् २०१९ मा भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल २-० गोलले पराजित भएको थियो । यो पटकको छनोटमा एशियाका २४ टिमलाई छ समूहमा विभाजित गरिएको छ । नेपाल समूह ‘एफ’ मा मलेसिया, भियतनाम र लाओससँग रहेको छ ।

 

होम एण्ड अवे प्रणालीमा खेलाइने छनोटपछि हरेक समूहको शीर्ष टोली एशियन कपमा छनोट हुनेछ । मलेसियासँगको यो खेल नेपालको होम म्याच हो । तर, दशरथ रङ्गशालाले अन्तर्राष्ट्रिय मान्यता नपाएको कारण नेपालले मलेसियामा खेल्न परेको हो ।