काठमाडौं। जोनाथन कान्टिलालनाको दुई गोलसँगै साबिक विजेता ललितपुर सिटीले नेपाल सुपर लिग (एनएसएल) मा पहिलोपटक जित दर्ता गरेको छ । आज भएको खेलमा पोखरा थन्डर्सलाई ३-२ गोलअन्तरले पराजित गरेसँगै ललितपुर खेलमा फर्किएको हाे।

 

पहिलो खेलमा पहिलो संस्करणको विजेता काठमाडौं रेजर्ससँग दुई गोलको अग्रता जोगाउन नसकेको ललितपुरले आफ्नो दोस्रो खेलमा पोखरा थन्डर्सलाई ३-२ ले पराजित गरेको हो।

 

योसँगै ललितपुर दुई खेलबाट चार अंक जोड्दै अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ। पोखरा भने अझै अंकविहीन छ। पहिलो खेलमा पोखरालाई एफसी चितवनले २-० ले पराजित गरेको थियो।

 

ललितपुरलाई जित दिलाउन जोनाथनबाहेक इमोह इजिकेलले एक गोल थपे। पोखराका समीर तामाङ र जोआइडुले गरेको गोल सान्त्वना रह्यो।

 

जोनाथन जारी प्रतियोगिताका सर्वाधिक गोलकर्ताको सूचीमा शीर्ष स्थानमा उक्लिएका छन्। उनले गोलसंख्या तीन पुर्‍याएका छन्। उनलाई एक खेल कम खेलेका धनगढी एफसीका अहमद हिजाजीले पछ्याइरहेका छन्। उनले पहिलो खेलमा बुटवल लुम्बिनी एफसीविरुद्धको दुई गोल गरेका थिए।