इलाम । इलामको रेडहर्ष एफसी पॉचौ सन्दकपुर गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको दोस्रो क्वाटर फाइनलमा कोशी प्रदेश प्रहरी टिम विराटनगर रानीलाई टाइब्रेकरमा ४-३ गोलअन्तरले पराजित गर्दै रेडहर्ष सेमिफाइनल पुगेको हो ।
निर्धारित समयमा दुवै टिमबाट एक-एक गोलको बराबरी भएपछि नतिजा टाइब्रेकरमार्फत निकालिएको हो । पहिलो हाफको २०औँ मिनेटमा सन्देश खवासको गोलबाट रेडहर्षले अग्रता बनाएको थियो ।
खेलको ८२औँ मिनेटमा कोशी प्रहरीका अभिषेक आलेमगरले गोल गर्दै खेललाई बराबरीमा पुर्याएका हुन् । त्यसपछिको समयमा दुवै टिमबाट थप गोल हुन नस्कदा खेल टाइब्रेकरमा धकेलिएको हो ।
टाइब्रेकरमा दुई गोल रोकेका रेडहर्षका गोलरक्षक निशम दनुवार खेलको प्लेयर अफ दी म्याच बने । उनले दुई हजार पॉच सयसहित ट्रफी पाए । भोलि तेस्रो क्वाटर फाइनलमा चुलाचुली स्पोर्टिङ क्लब दमक झापा र ब्रदरहुड फुटबल क्लब बेलका उदयपुरबीच प्रतिस्पर्धा हुनेछ ।
देउराली स्पोर्टिङ क्लबको आयोजना तथा सन्दकपुर गाउँपालिकाको संरक्षकत्वमा सञ्चालित प्रतियोगिताको विजेताले नगद २ लाख ५५ हजार र र उपविजेताले १ लाख ५५ हजार पाउने छ ।