
तेह्रथुम । ऐतिहासिक मदन मेला २०८२ को अवसरमा आयोजित पुरुष तथा महिला फुटबल प्रतियोगितामा सोधुङ सेन्दाङ र आठराई गाउँपालिकाको टिम फाइनलमा प्रवेश गरेका छन् ।
यसैगरी, महिलातर्फ उपाधि भिडन्तका लागि म्याङलुङ स्पोर्टिङ क्लब र दोखु युवा क्लब ताप्लेजुङ प्रतिस्पर्धा गर्नेछन् । दुवै टोलीले आज सम्पन्न सेमिफाइनल खेलमा जित दर्ता गर्दै उपाधि भिडन्तमा स्थान बनाएका हुन् । सोमबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा तमु ह्युल छोँज धि आठराई २-१ गोलले पराजित गर्दै सोधुङ सेन्दाङ उपाधि नजिक पुगेको हो ।
त्यस्तै, दोस्रो सेमिफाइनलमा म्याङलुङ स्पोर्टिङ क्लबलाई २-० गोलले पराजित गर्दै आठराई गाउँपालिकाले फाइनलमा उपाधि भिडन्तका लागि सोधुङ सेन्दाङसंगको भेट पक्का गरेको हो ।
यसैगरी, महिलातर्फको उपाधि भिडन्त म्याङलुङ स्पोर्टिङ क्लब र दोखु युवा क्लबबीच हुने भएको छ । पहिलो सेमिफाइनल खेलमा फेदाप गाउँपालिकालाई १-० गोलले पराजित गर्दै म्याङलुङ स्पोर्टिङ फाइनल प्रवेश गरेको हो ।
त्यस्तै, दोस्रो सेमिफाइनल खेलमा दोखु युवा क्लब ताप्लेजुङले मुनाल क्लब जलजलेलाई २-० गोलले पछि पार्दै उपाधि नजिक पुगेको हो ।
पुरूष तथा महिला फुटबलका फाइनल खेल भोलि मंगलबार हुनेछ। मदन मेमोरियल पुरुष फुटबल प्रतियोगिताको विजेताले २ लाख ५ हजार ५५५ र उपविजेताले १ लाख ३० हजार ५५५ सहित ट्रफी प्राप्त गर्नेछन् ।
महिला फुटबलको विजेताले नगद ८० हजार ५५५ र उपविजेताले ५० हजार ५५५ रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन् । मेलामा आठराई गाउँपालिका र मदन धारा समितिको आर्थिक सहयोग रहेको छ ।