शनिश्चरे । भेटेनरी अस्पतालबाट उपलब्ध हुने सेवाहरुमा पशुपालक किसानको पहुँच बृद्धि गर्ने उद्देश्यले झापाको अर्जुनधारा ४ स्थित दहिझोडा क्षेत्रमा एकदिने निःशूल्क पशु स्वास्थ्य घुम्ती शिविर आयोजना गरिएको छ ।

 

दहिझोडा क्षेत्र अर्जुनधारा नगरपालिकाभित्र भए पनि त्यहाँका पशुपालक किसानको सम्बन्धित शाखामा सोझै सम्पर्क नहुने, भए पनि पहुँच नहुने, सेवासुविधाबारे जानकार नहुनेजस्ता समस्यालाई पहिचान गरी घुम्ती शिविर आयोजना गरिएको हो ।

 

अर्जुनधारा नगरपालिकाको पशुपन्छी तथा मत्स्य विकास शाखाको आयोजनामा सोमबार दहिझोडा क्षेत्रका पशुपालक कृषकहरुलाई लक्षित गरि अर्जुनधारा ९ स्थित कटहरडाँडामा रहेको भेटेनरी अस्पतालको सेवा प्रवाहबारे जानकारी दिँदै अस्पतालबाट प्रदान गरिने सेवाहरुमा किसानहरुको पहुँच पु¥याउने उद्देश्यले शिविर आयोजना गरिएको शाखा प्रमुख पदमलाल राईले जानकारी दिए ।

 

शाखाको स्वीकृत वार्षिक नीति तथा कार्यक्रमअन्तर्गत शिविरमा परजीवी नियन्त्रणको लागि उपचार तथा औषधि वितरण सेवा, बन्ध्याकरण, बाँझोपन निवारण, भिटामिन फिड सप्लिमेन्ट वितरणलगायतका सेवाहरु प्रदान गरिएको थियो ।

 

शिविरमा ९८ घरधुरीका कृषकका एक हजार ७५ वटा पशुपन्छीले सेवा पाएको शाखाले जनाएको छ । जसअनुसार परजीवी नियन्त्रणको लागि उपचार तथा औषधि वितरण सेवातर्फ ६९ वटा राँगाभैंसी, ९७ वटा गाईगोरु, ४४० वटा भेँडाबाख्रा, ९५ वटा सुँगुरबंगुर, ३५० वटा कुखुरा, १९ वटा बोकाको बन्ध्याकरण र ५ वटा गाईभैंसीको गर्भ परीक्षण गरिएको थियो ।

 

अर्जुनधारा ४ का वडाध्यक्ष अम्बरबहादुर कटुवालको अध्यक्षतामा आयोजित उक्त शिविरको उद्घाटन अर्जुनधारा नगरपालिकाकी उपप्रमुख खड्गमाया पराजुलीले गरेकी थिइन् । वडा सदस्य अमृतबहादुर बुढाथोकीले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन शाखा प्रमुख राईले गरेका थिए ।