पाँचथर । मेची राजमार्गअन्तर्गत फिदिम–ताप्लेजुङ सडक खण्डको हेंवा खोलामा बेलिब्रिज जोड्ने काम सुरु भएको छ । पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकालाई सिमाना छुट्याएर बगेको यो खोलामा डिभिजन कार्यालय इलामले ७० मिटर लामो बेलिब्रिज जोड्न सुरु गरेको हो ।

 

पछिल्लो पटक २०८१ असोज १२ गते आएको बाढीले यहाँको बेलिब्रिज बगाएको थियो । त्यसअघि २०८० असार २ गतेको बाढीले यहाँको पक्की पुल बगाएपछि लगाइएको बेलिब्रिज पनि बगाएपछि त्यहाँ ह्युम पाइपमार्फत पानी तर्काएर यातायात र ढुवानीका साधन आवागमन गराइँदै आएको थियो ।

 

यसैबीच संघीय सरकार मातहतको सडक डिभिजन कार्यालय इलामले गत फागुनमा बोलपत्र आह्वान गरी यहाँ पुनः बेलिब्रिज जोड्ने प्रक्रिया थालेको थियो । यसपटक यहाँ थालिएको बेलिब्रिज जोड्न दोभान सुपर सौगात लाइट बिल्डर्स जेभिले सम्झौता गरेको छ ।

 

बेलिब्रिज जडान र त्यसका लागि बेस निर्माण तथा सडक पहुँचका लागि ३ करोड ४९ लाख ३३६ रुपैयाँमा ठेक्का लागेको हो । सोमबार सुरु भएको बेलिब्रिज जडानको काम सकिन करिब १५ दिन लाग्ने सडक डिभिजन इलामका प्रमुख एवं इन्जिनियर पवन भट्टराईले बताए । यहाँ बेलिब्रिज जडान भएपछि पाँचथरको हिलिहाङ, याङवरक र फालेलुङसँगै सिंगो ताप्लेजुङका नागरिक लाभान्वित हुने कान्तिपुर अनलाइनमा समाचार छ ।