झापा । कोशी प्रदेशका धेरै ठाउँमा मनसुनी वायुको प्रभाव रहेकोले त्यस क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । मनसुनी वायु पूर्वमा सक्रिय रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पछिल्लो ३ घण्टामा सबैभन्दा धेरै सर्लाहीको परवानीपुरमा ५६ दशमलव २ मिलिमिटर वर्षा मापन भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै मोरङमा २९ दशमलव ६, सिन्धुलीमा २५ दशमलव ८ र उदयपुरमा २४ दशमलव २ मिलिमिटर वर्षाको मापन भएको छ ।
यसैगरी जनकपुर, महोत्तरी, रौतहट, सिराहा, धनुशा ,सप्तरी, सुनसरी , मोरङ, रामेछाप, सोलुखुम्बु र आसपासका ठाउँहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम पानी परिरहेको छ ।
काठमाण्डौ उपत्यका र आसपासका क्षेत्रमा पनि गएराति छिटफुट वर्षा भएको छ । आज दिउँसो देशका धेरै ठाउँमा वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
भोलि पनि नेपालको धेरै ठाउँमा वर्षाको सम्भावना रहेको र पर्सि शुक्रबारदेखि ३-४ दिन पानी नपर्ने र सुक्खा हुने अनुमान रहेको मौसमविद् विनोद पोख्रेलले बताए ।