काठमाण्डौ । कोशी र गण्डकी प्रदेशका केही ठाउँमा ठूलो वर्षापछि बाढीको जोखिम बढेको छ । धनकुटाको मुलघाट, त्रिवेणी र मझुवाघाट, सुनसरीको तरहरा र धरानबजार, इलामको माईपोखरी, कास्कीको लुम्लेलगायतका क्षेत्रमा ठूलो वर्षा भएको हो ।

 

सुनसरीको सर्दु खोला मदन भण्डारी राजमार्ग जलमापन केन्द्रमा जलसतहले खतरा तह पार गरेको छ । त्यस्तै कास्कीको लुम्ले क्षेत्रमा ठूलो वर्षा भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।

 

पर्वतको मोदी खोला जलमापन केन्द्रमा जलसतह सतर्कता तह आसपास छ । तर, बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्र आसपास बसोबास गर्ने र नदी किनार भइ यात्रा गर्नेलाई सतर्कता अपनाउन भनिएको छ ।

 

नारायणी नदीअन्तर्गत पर्वतको मोदी खोला नयाँपुल जल मापन केन्द्रमा बाढी आएको छ । आज विभिन्न खोला तथा नदीहरुमा जलसतह बढेपछि बाढी पूर्वानुमान महाशाखाले आवश्यक सावधानी अपनाउन अनुरोध गरेको छ । नदी तटीय क्षेत्र र डुबान भइरहने होचा भाग तथा मुख्य राजमार्गमा यात्रा गर्दा सावधानी अपनाउन भनिएको छ ।

 

बितेको २४ घण्टामा धनकुटाको त्रिवेणीमा १९५ दशमलव ६, इलामको माईपोखरी केन्द्रमा १८२ दशमलव २ मिलिमिटर र मझुवाघाटमा १७३ मिलिमिटर, लुम्लेमा १६२ दशमलव ६ मिलिमिटर वर्षा मापन भएको छ ।

 

आज र भोलि थप पानी पर्ने सम्भावना छ । अहिले देशभर मनसुनी वायुको प्रभाव छ । आज कोशी, मधेस, बागमती, गण्डकी र कर्णाली प्रदेशलगायत देशका पहाडी भागका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।