फाइल तस्वीर ।

फिदिम । आइतबार अपराह्नदेखि निरन्तर भएको वर्षासँगै हेंवा खोलामा बाढी आउँदा मेची राजमार्गको पाँचथर सडकखण्ड अवरुद्ध भएको छ । बाढीले हेंवा खोलामा निर्मित डाइभर्सनमा क्षति पुर्‍याउँदा यातायात र ढुवानी प्रभावित भएको हो ।

 

यस्तै, तमोर करिडोरको पाँचथर र धनकुटाको सिमनामा रहेको नावा खोलामा आएको बाढीका कारण यो राजमार्ग भएर हिँड्ने सवारी र ढुवानीका साधन आवागमन ठप्प भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख (डिएसपी) कौशलकुमार बुडाथोकीले जानकारी दिए ।

 

उनका अनुसार आइतबार मध्यरातदेखि दुवै सडक अवरुद्ध भएका हुन् । मेची राजमार्गको हेंवा खोला पुल २०८० असार २ गते बाढीले बगाएको थियो ।

 

त्यसपछि निर्मित बेलिब्रिज २०८१ असोज १२ गते बग्यो भने तेस्रो पटक निर्माणाधिन मोडुलर ब्रिज गत जेठ ३१ गते भाँचिएपछि यो खोला डाइभर्सनका भरमा छ ।