झापा । झापाको शिवसताक्षीस्थित एशियन हाइवे निर्माणका क्रममा सुकुना खोलामा बनाइएको डाइभर्सन भत्किएपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ ।
आज बिहान करिव ५ः३० बजेदेखि सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक गणेश पौडेलले बताए । शिवसताक्षी १० स्थित सुकुना खोलामा ह्युमपाईप लगाएर डाइभर्सन बनाइएको थियो ।
अविरल वर्षापछि सुकुना खोलामा आएको पानीले डाइभर्सनको एक छेउमा माटो कटान गरेपछि यातायात अवरुद्ध भएको हो । जसबाट बाटोमा सवारी आवतजावत पूर्णरुपमा अवरुद्ध भएको छ । बाटो सुचारू गराउनका लागि पहल भइरहेको प्रहरी निरीक्षक पौडेलले बताए ।
बाटो अवरुद्ध भएपछि दर्जनौ सवारी साधन र सयौ यात्रु अलपत्र परेका छन् । सवारी साधनलाई बैकल्पिक बाटो शिवसताक्षी १० भालुखोला हुँदै सैनिक चौक निस्कने गरी सञ्चालन गरिएको बताइएको छ ।