ताप्लेजुङ । भारतीय टोलीमाथि साँघुरो जित निकाल्दै चर्च ब्वाइज युनाइटेड भानुजन माविको मैदानमा जारी तेस्रो ताप्लेजुङ गोल्डकपको अन्तिम चारमा प्रवेश गरेको छ ।
पाहुना टोली लिजेण्ड फुटबल एकेडेमी सिलिगुडी भारतलाई १-० गोलको नतिजामा हराउँदै चर्च ब्वाइजले सेमिफाइनलमा स्थान बनाएको हो । खेलको १० मिनेटमा मनिष जर्घामगरले गरेको गोल नै जितका लागि पर्याप्त बन्यो ।
खेलको ४२औँ मिनेटमा भारतका खेलाडी प्रितम बैडी दोहोरो पहेँलो कार्डपछि रेड कार्ड खाएर बाहिरिएपछि १० जनामा समेटिएको थियो । भारतले धेरै राम्रा अवसर पाए पनि स्कोर हुन नसक्दा पहिलो खेलबाटै बाहिरिएको हो ।
चर्च ब्वाइजका गोलरक्षक विश्वास चौधरी प्लेयर अफ दि म्याच घोषित भए । उनले नगद ७ हजार पाए । लाखे जात्रा सन्चालन समितिले प्रतियोगिता आयोजना गरेको हो ।
प्रतियोगिताको विजेताले नगद ७ लाख २ हजार ८२ र ट्रफी प्राप्त गर्नेछ । उपविजेताले ३ लाख ५२ हजार ८२ रुपैयाँमा चित्त बुझाउनु पर्नेछ । सर्वोकृष्ट बन्ने खेलाडीले मोटरसाईकल पाउँदा अन्य विधागत पुरस्कारको व्यवस्था रहेको छ ।
भोलि (मंगलबार)को अन्तिम क्वाटरफाइनल खेलमा सलहेश युवा क्लब सिराहाले पाँचथरको फिदिम स्पाेर्टिङ क्बलको सामाना गर्नेछ । फाइनल खेल साउन ३१ गते हुनेछ ।