ताप्लेजुङ । पहिलोपटक हिमाली जिल्ला ताप्लेजुङमा सहभागिता जनाएको चर्च ब्वाइज युनाइटेड ललितपुर यहाँ जारी तेस्रो ताप्लेजुङ गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।

 

भानुजन माविको मैदानमा आज भएको पहिलो सेमिफाइनल खेलमा इटहरीको द योङ ब्रदर्स क्लबलाई टाइब्रेकरमा ३-१ गोलले पराजित गर्दै फाइनल यात्रा तय गरेको हो ।

 

९० मिनेटको खेलमा दुवै टोलीले १-१ गोलको बराबरी गरेपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । खेलको ७७औँ मिनेटमा योङ ब्रदर्सले पाएको फ्रिकिकमा प्रवेश बस्नेतको प्रहार चर्च ब्वाइजका गोलरक्षक विश्वास चौधरीले नियन्त्रण गुमाएका थिए ।

 

भारी वर्षाका कारण हिलाम्मे खेलमैदानमा चौधरीको हातबाट फुत्किएको बलले गोल लाइन क्रस गरेको थियो । यस्तै, खेल सकिन १ मिनेट बाँकी रहँदा चर्च ब्वाइजले फ्रिकिक पाएको थियो । जसमा सुमन श्रेष्ठले गोल गर्दै टिमलाई खेलमा फर्काए ।

 

टाइब्रेकरमा भने इटहरी अभागी सावित बन्यो । चर्च ब्वाइजका लागि सुमन श्रेष्ठ, रोशन पहाडी र युवराज ढकालले गोल गरे भने नवयुग श्रेष्ठको प्रहार बाहिरिएको थियो ।

 

चर्च ब्वाइजका गोलरक्षक विश्वास चौधरीले इटहरीका विशाल तामाङ र निवास श्रेष्ठको प्रहार रोकेका थिए भने युगन राईको प्रहार पोस्टमा लागेर फर्किएको थियो । इटहरीका निरज खड्काकाे प्रहारमात्र गोलमा परिणत भएको थियो ।

 

खेलको प्लेयर अफ दि म्याच चर्च ब्वाइजका सुमन श्रेष्ठ भए । उनले नगद ७ हजार पाए । यसैबीच, आजकाे खेलमा महिला अतिथि राखिएकाे थियाे । उनीहरुबाट संकलित १३ हजार रकम टिम इटहरीलाई प्रोत्साहनस्वरुप हस्तान्तरण गरिएको छ ।

 

भोलि अन्तिम सेमिफाइनल खेलमा झापा बिर्तामोडको रेड स्टार फुटबल क्लबले सिराहाको सलहेश युवा क्लबसँग प्रतिस्पर्धा गर्दैछ । झापा पाथिभरा गाेल्डकपमा एकपटक च्याम्पियन र एकपटक उपविजेता हाे भने सिराहा ताप्लेजुङ गाेल्डकपकाे दाेस्राे संस्करणकाे उपविजेता टाेली हाे ।

 

लाखे जात्रा सन्चालन समितिले आयोजना गरेको प्रतियोगिताको विजेताले नगद ७ लाख २ हजार ८२ र ट्रफी प्राप्त गर्नेछ । उपविजेताले ३ लाख ५० हजार ८२ रुपैयाँमा चित्त बुझाउनु पर्नेछ । सर्वोकृष्ट बन्ने खेलाडीले मोटरसाईकल पाउँदा अन्य विधागत पुरस्कारको व्यवस्था रहेको छ ।