शनिश्चरे । झापाको अर्जुनधारा १ स्थित सिस्नेमा जिल्लास्तरीय खुल्ला कराते प्रतियोगिता हुने भएको छ । सिस्ने कराते डोजोको आयोजनामा असोज ११ गते हुने एकदिने प्रतियोगितामा झापा जिल्लाका २५० जना खेलाडी सहभागी हुने बताइएको छ ।

 

प्रतियोगिताको दोस्रो संस्करणबारे जानकारी दिँदै आज पत्रकार सम्मेलनमा खेल संयोजक तथा वडा सदस्य मदन लिमेलले प्रतियोगिता सम्पन्न गर्न ४ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको बताए ।

 

कराते महासंघ झापाका महासचिव तथा सितेरियो कराते संघका उपाध्यक्ष जीवन राईका अनुसार प्रतियोगितामा २०, २५, ३०, ३५, ४०, ४५, ५०, ५५ र ६० केजी तौलसमूहमा प्रतिष्पर्धा गराइने छ । राईका अनुसार प्रतियोगितामा जिल्लाका २५ वटा डोजोका खेलाडी सहभागी हुनेछन् ।

 

कार्यक्रममा अर्जुनधारा नगरपालिका १ का वडाध्यक्ष उपेन्द्र बस्नेतले प्रतियोगिता वडाका लागि गहनाका रुपमा रहेको बताए । महत्वपूर्ण प्रतियोगितालाई वडा कार्यालयले उचित सहयोग गर्ने प्रतिबद्धतासमेत उनले जनाएका छन् । यस्तै स्थानीय अग्रज रामबहादुर निरौलाले सिस्ने क्षेत्रको गौरव मानेर प्रतियोगितालाई सहयोग गर्ने बताए ।

 

आयोजक सिस्ने कराँते डोजोका प्रमुख मथुरा तामाङले प्रतियोगिता भब्यरुपमा सम्पन्न गर्न यथासक्य सहयोगको अपेक्षा गरिएको बताएकी छन् । पत्रकार सम्मेलनकै अवसरमा शनिश्चरेको अर्जुनधारा ज्वेलर्सका सञ्चालक सूर्य लोहारले महिला र पुरुष दुवै विधाका बेस्ट फाइटरलाई नगद पुरस्कार प्रायोजन गर्ने घोषणा गरे ।

 

विभिन्न संघसंस्था, व्यक्ति, नगरपालिका, वडा कार्यालयबाट संकलित रकमबाट आयोजना गरिने प्रतियोगिताबाट बचत भएको रकमले सिस्ने डोजोको सञ्चालनका लागि कोष खडा गरिने जनाइएको छ ।